नेपाल न्युज प्वाइन्ट डटकम
अर्थतन्त्र सुधारोन्मुख, नकारात्मक सोचबाट मुक्त हौऔं : अर्थमन्त्री

चितवन : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।

चितवन उद्योग वाणिज्य संघको ५७औं वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भने । “उद्योगी व्यवसायी नै नकारनात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ”, उनले प्रश्न गरे । नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए ।  

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै  गएको उनको भनाइ थियो । उनले भने, “अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ ।” सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए । 

बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उनले भने, “सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो । अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ ।”

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update