नेपाल न्युज प्वाइन्ट डटकम
सिमकोट गाउँपालिकाद्वारा माघ मसान्तसम्म ८५ वटा योजनाको सम्झौता सम्पन्न

सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमले तर्जुमा गरेका कूल योजनामध्ये हालसम्म ७३ प्रतिशतभन्दा बढी योजनाको सम्झौता गर्न सफल भएको छ ।

सिमकोटमा यसअघि फागुन, चैत र वैशाखमा मात्र सम्झौता हुने भए पनि यस वर्ष भने अधिकांश योजना समयमै सम्झौता भएर निर्माणसमेत धमाधम भइरहेको छ ।

सिमकोट गाउँपालिका योजना शाखाका अनुसार पहिलो पटक गाउँपालिकाले माघ मसान्तसम्म ७३ दशमलव २७ प्रतिशत योजनाको सम्झौता गर्न सफल भएको छ । यो दर गत वर्ष १७ प्रतिशत मात्र थियो । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर माघसम्म सम्झौता गर्नै पर्ने जनाएपछि उपभोक्ता सम्झौताका लागि तातेका हुन् ।

माघ मसान्तसम्मको लक्ष्य शतप्रतिशत योजनाको सम्झौता गर्ने रहे पनि त्यो भने पूरा हुन नसकेको र यतिबेला फेरि सम्झौता चाँडो गर्नका लागि सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल ११६ वटा योजना गाउँपालिकाको रहेको र त्यसमध्ये माघ मसान्तसम्म ८५ वटाको सम्झौता भएर काम शुरु भइरहेको छ । अझै ३१ वटा योजनाको सम्झौता गर्न बाँकी रहेको गाउँपालिकाले बताएको छ ।

सम्झौता भएका ती योजनामा ६८ वटा उपभोक्ता र १७ वटा ठेक्काबाट निर्माण गर्ने रहेका छन् । त्यसको ३४ वटालाई पेश्कीसमेत गइसकेको छ भने १७ वटा योजनाका लागि काम सम्पन्न भएर अन्तिम भुक्तानीसमेत गइसकेको लेखा शाखाले जनाएको छ ।

यस पटकको यो प्रयासले गाउँपालिकालाई समयमै योजना सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्लाका अन्य ६ वटा गाउँपालिकाको योजना सम्झौता कार्य भने भर्खर शुरु भएको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update