
काठमाडौं : बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।
सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवम् व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हिरासतमुक्त भएका हुन् ।
जिल्ला अदालत, काठमाडौंले २५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश दिएपछि प्रहरीले तीनै जनालाई छाडेको हो ।
बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको हो । दुई दिनमा अनुसन्धान नसकिने भएकाले पनि प्रहरीले उनीहरूलाई हिरासतमुक्त गरेको हो ।
बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजी बनाएको आरोपपछि सीआईबीले अनुसन्धान शुरु गरेको थियो । उनीहरूलाई सीआईबीले गत बुधबार पक्राउ गरेको थियो ।