
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । पोखरामा शुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने वक्तव्यबाजी र दबाब शुरु हुने बताए ।
बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ । सोही विषयलाई इंगित गर्दै गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन नसकिने बताएका हुन् ।
निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा व्यक्तव्यबाजी गर्नुको अर्थ नभएको उनको भनाइ छ । तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो ।