काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरेका हुन् ।
कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे । शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ ।
नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे ।
लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाए ।
यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारे ।



