काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका थप तीन शाखा एकसाथ सञ्चालनमा आएका छन् । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशमा डडेल्धुराको अमरगढी, दार्चुलाको महाकाली र कर्णाली प्रदेशमा दैलेखको दुल्लुमा एकसाथ सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको देशभर १९७ वटा शाखा सञ्चालनमा आएका छन् । प्रदेशगतरुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् ।
बैंकको मुख्य कार्यालयमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीयस्तरमा खोलिएका यी शाखाहरुबाट अत्याधुनिक बैंकिङ सेवा सुविधा उपलब्ध गराएर ग्राहकको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिए । साथै उनले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत सिटिजन्स बैंकको उपस्थिति रहने योजना रहेको बताए ।
सुविधा सम्पन्न यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा ती तीन शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको बैंकले बताएको छ ।
सिटिजन्स बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


