नेपाल न्युज प्वाइन्ट डटकम
संसदलाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौं : यही माघ २२ गतेदेखि प्रारम्भ हुने संघीय संसदलाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।

आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीका बारेमा छलफल गरेको प्रधानमन्त्री कार्यालयको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अघिल्लो संसद अधिवेशनले कानून निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेस दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् । मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, “अघिल्लो वर्ष संसदले कानून निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि बिजनेस दिएन भन्ने मत पनि छ तर यसपटक त्यस्तो नहोस् ।”

सो छालफलका क्रममा प्रधानमन्त्रीले भने, “संसद सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँ । मुख्यसचिवले ‘फलो अप’ गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला । यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेस दिनुपर्छ । त्यो गुनासो नआउने गरी काम गर्नुहोला ।” 

छलफलमा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले कानूनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।

बैठकमा सो मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही बिल पेस गर्न सकिने गरी तयारी गरिएको बताए । सचिव सापकोटाले केही विधेयक संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका सन्दर्भमा द्रूत रुपमा काम गरिने जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update