काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो ।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर ५० बल बाँकी छँदै भेट्टायो । कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट रहे । बलिङतर्फ पोखराका विपिन खत्रीले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।
पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्काको सहयोगमा २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४ रन बनाए । महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । यसबाहेक पोखराका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । तिलक भण्डारीले २ विकेट लिए भने शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।



