काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको हो ।
लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो । यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन ।
लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । यस्तै आसिफ शेखले ३२ रन बनाए । निरोसन डिकवेलाले ७ रन बनाए । कप्तान रोहित पौडेल ५ रन र समिम हुसेन १ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि अनिल खरेलले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए । ओपनर सेफ जेबले १३ रन बनाए ।
लुम्बिनीका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । साड्ली भान साल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान १–१ विकेट लिए ।



