नेपाल न्युज प्वाइन्ट डटकम
कुलिङ पिरियड छेडखानीका लागि गठित संसदीय छानविन समितिले टुंग्यायो कार्यविधि

काठमाडौंः सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरु गरेको र आजको बैठकले अन्तिम रुप दिएको जानकारी दिए । अब पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो ।

गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार छन् । संसदको नियमावली, २०७५ को नियम १८ बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य छन् ।

नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन्। समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।

उनले भने, ‘हिजो हामीले कार्यविधिका बारेमा छलफल अघि बढाएका थियौँ । त्यो कार्यविधि अब अन्तिम चरणमा पुगेको छ । हामीले त्यसलाई पारित गर्न मात्रै बाँकी छ । काम कसरी अघि बढाउने भन्नेमा छलफल गरेका छौँ । कार्यविधिलाई अन्तिम रुप प्रदान गरेका छौँ ।’ बैठक बिहीबार सवा १२ बजे बस्नेछ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update