नेपाल न्युज प्वाइन्ट डटकम
विपक्षीको अवरोध कायमै, संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए ।

तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे । सभामुखले दुई हप्तादेखि ठप्प रहेको भन्दै छलफलका लागि बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए । विपक्षीहरूले ‘गृहमन्त्री राजीनामा दे’, ‘भिजिट भिसा प्रकरणमा छानबिन गर’ भन्ने नारा लगाएका थिए । 

विपक्षीले उठेर विरोध जारी राखेपछि सभामुख घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए ।

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन् ।

वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् । सभामुख घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update