नेपाल न्युज प्वाइन्ट डटकम
कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

सुनवल : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अवरैयामा शुक्रबार बिहान एक युवाले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् ।

स्थानीय २५ वर्षीय हेमराज थारूले ५० वर्षीय बुबा जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय सुनवलका अनुसार हेमराजले पहिले बुबालाई घाँटीमा कोदालो प्रहार गरेका थिए । त्यसपछि बुबालाई बचाउन आएका छिमेकी धरिकारलाई पनि उनले टाउको र घाँटीमा कोदालो प्रहार गरेका थिए ।

दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि हेमराजलाई नियन्त्रणमा लिइएको छ र जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखेर सोधपुछ भइरहेको छ । घटनास्थलबाट प्रयोग भएको कोदालो बरामद गरिएको छ ।

हत्या किन गरियो भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । तर प्रारम्भिक अनुसन्धानका क्रममा हेमराज मानसिक समस्याबाट ग्रस्त थिए भन्ने थाहा भएको प्रहरी स्रोतले जनाएको छ । स्थानीयहरूका अनुसार उनी केही समयअघि मानसिक रोगको उपचार गराएका थिए । दुवै मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update