
काठमाडौं : यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
१९ जेठदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवली विरूद्ध यातायात बन्द गरेर देशव्यापी हड्ताल गरेको थियो ।
उक्त हड्तालविरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ ।
जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख छ ।
संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारमा बाधा पुगेको उल्लेख गर्दै यातायातमा भएको हडतालले आम जनताको मौलिक हकमै हस्तक्षेप भएको रिट निवेदनमा भनिएको छ ।