
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले प्रधानमन्त्रीले ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ ।
आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ ।
आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
सोही दिन राजावादी समूहले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्तालाई त्यसविरुद्ध उत्रन समेत निर्देशन दिएका थिए । जसबारे ध्यानाकर्षण गराउँदै आयोगले यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक रहेको उल्लेख गरेको छ ।
आयोगले जिम्मेवार पक्ष सबै संयमित हुन जरुरी रहेको उल्लेख गरेको छ । साथै विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन पनि आयोगले सबैलाई आग्रह गरेको छ ।