
काठमाडौंः नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । सांसद राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको हो ।
स्वर्णलक्ष्मी सहकारी मुद्दाकी आरोपित उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलकाे कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनी समानुपातिक सांसद हुन् ।
उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त संस्थाकी सदस्य रहेकी थिइन् । त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ र २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सचिव पदमा रहँदा कार्यसमितिको नाममा भएको एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी जम्मा दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ ।