
काठमाडौं : संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि सुरु हुने निर्णायक आन्दोलनमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ। आइतबार काठमाडौंमा सम्पन्न समितिको संयुक्त बैठकमा आन्दोलनलाई व्यापक बनाउन विभिन्न कार्यक्रम तय गर्दै राष्ट्रवादी शक्तिहरू एकताबद्ध भएका छन्।
बैठकमा संयोजक नवराज सुवेदीले जेठ १५ बाट सुरु हुने आन्दोलन सफल बनाउन सबै राजावादी, राष्ट्रवादी, सनातन धर्मावलम्बी र देशप्रेमी जनतालाई एकताबद्ध हुन आवश्यक रहेको बताए । जनआन्दोलन घोषणा सभापछि पहिलोपटक सबै राष्ट्रवादी शक्ति एउटै छातामुनि आएको उल्लेख गर्दै उनले वातावरण अनुकूल भएको बताए ।
संयुक्त जनआन्दोलन समितिमा आवद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको उपस्थितिमा बैठकले जेठ १५ गतेको आन्दोलनका लागि काठमाडौं बाहिरका जनतालाई समेत राजधानीमा उपस्थित हुन विशेष आग्रह गरेको छ ।
बैठकले पारित गरेका प्रमुख निर्णयहरू :
जेठ ८ देखि ११ गतेसम्म काठमाडौं उपत्यका जनजागरण यात्रा सञ्चालन गर्ने। यात्रा काठमाडौंको सांखुबाट सुरु भई चाँगुनारायणमा समापन हुनेछ ।
जेठ ६ गते संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यप्रति आस्था राख्ने व्यक्तिहरूको भेला ।
जेठ १३ गते वृहत युवा स्वयंसेवक भेला ।
आन्दोलन शान्तिपूर्ण हुने र त्यसको अनुगमनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थालाई आग्रह गरिने ।
तीनकुने घटनामा फसाइएका आन्दोलनकारीको रिहाइको माग ।
बैठकले जेठ ७ गतेभित्र देशभरका जिल्ला र पालिकामा 'संयुक्त आन्दोलन समिति' गठन गर्नसमेत आह्वान गरेको छ। साथै, आन्दोलनको तयारीस्वरूप आर्थिक सहयोग गर्न आम नागरिकलाई अपिल गरिएको छ ।
संयोजक सुवेदीले आन्दोलनमा सबै क्षेत्र, वर्ग, जाति, धर्म र समुदायका नागरिकको सहभागिता आवश्यक रहेको बताए। “यो आन्दोलन सत्ता कब्जा गर्ने होइन, देशको अस्तित्व, पहिचान र सांस्कृतिक मुल्य जोगाउने हो,” उनले भने ।