नेपाल न्युज प्वाइन्ट डटकम
भारत र पाकिस्तानमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा प्रबन्ध मिलाउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले भारत र पाकिस्तानमा युद्ध सुरु भएकाले त्यहाँ बसोबास गर्ने नेपालीहरुको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

यसअघि सभाको बैठकमा सांसदहरुले भारत–पाकिस्तानबीचको सम्भावित युद्धबाट नेपाललाई पर्नसक्ने असरको विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना गरेको छ ।

‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ ।

उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ । पाकिस्तानले बिहीवार अपरान्ह उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ ।

पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ । यी दुई देशबीचको बढ्दो तनावले विश्व राजनीति तरंगित भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update