
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताए ।
उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताए । उनले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरे । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताए ।
उनले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गरे ।