नेपाल न्युज प्वाइन्ट डटकम
एनआरएनए राजनीति गर्ने संस्था होइन: परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई राजनीति नगरी एकजुट भएर अघि बढ्न अनुरोध गरेकी छन्।

शनिबार काठमाडौंमा गैरआवासीय नेपाली सं‌घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरेकी हुन्। ‘एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईंहरू आफू आबद्ध पार्टीमा राजनीति गर्न सक्नुहुन्छ, संस्थाको पवित्र उद्देश्य पूरा गर्न निःस्वार्थ भावनाका एकताका लागि जुट्न म तपाईंहरूलाई आग्रह गर्दछु,’ उनले भनिन्।

उनले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको बताइन्।

‘तपाईंहरूले आफूभन्दा ठूलो संस्था र संस्थाभन्दा ठूलो देश हो भन्ने भावना बोकेकै कारण अहिले एकता महाधिवेशन सम्भव भएको हो,’ उनले भनिन्, ‘तपाईंहरू राजनीति गरेर मन्त्री र प्रधानमन्त्री बन्ने होइन, गैरआवासीय नेपालीहरूको हितका लागि हो, त्यसैले संघमा राजनीति मिसाउनु उचित होइन।’

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update