
काठमाडौं : सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् ।
पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।
पत्रको व्यहोरामा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२/१/१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’
साथै चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए । जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो ।
तर, उक्त पत्रमा कुनै न्यायाधीशको आदेश नरहेको र विष्टले योगराज ढकाल (रिगल) को मुद्दाको नजिरलाई आधार बनाएर पत्र लेखेको खुलेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।