
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसहित दर्जन बढी सचिवहरूको सरुवा भएको छ । शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेश स्तरमा कार्यरत सचिवहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाइएको छ भने सचिव रवीलाल पन्थलाई सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । त्यहाँका सचिव मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महालेखा नियन्त्रक कार्यालयका नियन्त्रक विनोदप्रकाश सिंह आएका छन् भने डा.गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।
उपराष्ट्रपति कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खटाइएको छ । सो मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा.हरिप्रसाद लम्साललाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ ।
लुम्बिनी प्रदेशमा वरिष्ठ सहसचिव बाबुराम अधिकारीलाई प्रदेश प्रमुख सचिव बनाइ पठाइएको छ भने लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई बागमती प्रदेशको प्रदेश प्रमुखमा खटाइएको छ । यसैगरी, कर्णाली प्रदेशका प्रदेश प्रमुख सचिव चूडामणि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ । पौडेलको ठाउँमा मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याललाई पठाइएको छ ।