काठमाडौं : प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्- आज दियो पोष्ट भन्ने सञ्चार माध्यममा मेरो नाम समेत जोडी ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा 'घुस' : फिक्सर इनामको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु ।
जुन प्रसंग जोडी आफ्नो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसङ्गमा आफ्नो कुनै संलग्नता नभएको पनि उनले बताएका छन् ।
‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहिल्यै भेटेको पनि छैन । उक्त प्रसङ्गमा उल्लेखित मितिमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ । यसरी आधारहीन, झूटा, कपोलकल्पित र जनतामा भ्रम हुने दुषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु ।’
विचौलिया भनेर प्रहरीले पक्राउ गरेर थुनामा रहेका इनम सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा गरी १ लाख ७४ हजार रूपैयाँको कारोबार विवरण भेटिएको र सोही विवरणको मुनिपट्टि मनोजकुमार शर्मा (चिफ जष्टिस), विश्व पोखरेल ओखलढुंगा र वंशी दाहाल भनेर लेखिएको भन्दै दियो पोष्टले समाचार छापेको थियो ।




