काठमाडौँ : चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ । यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउन लागेको हो ।
लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने विद्यमान नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ । विशेषगरी चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्तो व्यवस्था कार्यान्वयनमा कडाइ गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुई चालक भए–नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्नेछ । नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।
विशेषगरी रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकलाई पर्याप्त आराम नपुग्ने तथा लगातार सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियमलाई थप कडाइका साथ लागू गरिने बताए । उनले भने, “चालकसहित यात्रुहरूको सुरक्षाका लागि रात्रिकालीन सेवाका सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम छ । त्यसैलाई अब थप कडाइका साथ लागू गर्दैछौँ ।”
दुई चालकको व्यवस्था कार्यान्वयन भएमा चालकले पालैपालो सवारी चलाउन सक्ने र लामो यात्रामा चालकको थकान व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता सुवेदीको भनाइ छ ।
यसैगरी लामो दूरीका सवारीसाधनका चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको विषयमा समेत ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच गर्ने भएको छ । सवारी सञ्चालन गर्नुअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित जोखिम नियन्त्रण गर्ने उद्देश्यले यस्तो निगरानी बढाउन लागिएको प्रवक्ता सुवेदीले बताए । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, टिकटको माग उच्च हुने र लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने भएकाले यात्रुको सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गर्न लागिएको हो ।


