नेपाल न्युज प्वाइन्ट डटकम
एडमन्ड हिलारी मेमोरियल म्युजियमलाई आर.के. शेर्पाले गरे ५० हजार रुपैयाँ सहयोग

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ निवासी रिन्छेन कर्मा (आर.के.) शेर्पा र परिवारले सर एडमन्ड हिलारी मेमोरियल म्युजियम एन्ड इल्डर केयर सेन्टरलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

शेर्पा परिवारले आफ्नी स्वर्गीय आमा डोमा छम्जी शेर्पाको सम्झनामा सेन्टरलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । उनकी आमाको २०८१ पुस ७ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

शेर्पा परिवारले सहयोग गरेको रकम ज्येष्ठ नागरिक वृद्धवृद्धाको सेवाका लागि चक्रियकोषको रुपमा प्रयोग हुने सेन्टरले जनाएको छ ।

शेर्पा परिवारले महाकुलुङका वृद्धवृद्धाहरुको हेरचाह केन्द्र र विशेष गरी पारिवारिक समर्थन नभएका वृद्धवृद्धाहरुलाई यो दानबाट आफ्नी आमाको सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।

सर एडमण्ड हिलारीद्वारा सन् १९८९ निर्माण गरिएको बुङ क्लिनिक सन् २०१५ को विनासकारी भूकम्पले क्षतविक्षत बनाएको र सन् २०१६ मा सर एडमण्ड हिलारी फाउण्डेशन जर्मनी, नेपाल हिल्फे टिरोलको प्रो. वोल्फग्याङ नैरज्‌द्वारा पुनर्स्थापन गरिएको हो । यसलाई सुरुदेखि नै डा. लेस ओमोटानीलगायत विभिन्न व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भइरहेको छ । 

वृद्धवृद्धाको हेरचाहाका लागि आर्थिक सहयोग गरेकोमा शेर्पालाई सेन्टर तथा द पार्ट्नर्स नेपालले धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update