नेपाल न्युज प्वाइन्ट डटकम
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ।

विजया दशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दशैंको टीका लगाउने क्रम जारी छ ।

आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।

दशैंको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।

हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ । वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update