नेपाल न्युज प्वाइन्ट डटकम
संसदको कार्यसूचीमा राखेपछि अध्यादेशबारे हाम्रो निर्णय सार्वजनिक हुन्छ : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको जनाएको छ । अध्यक्ष उपेन्द्र यादवले सरकारले हालै ल्याएको अध्यादेशप्रति पार्टी सकारात्मक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले अध्यादेशप्रति आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिए ।

उनले अध्यादेश आफ्नो पार्टीका कारण नरोकिएको र सरकारले नै संसदको कार्यसूचीबाट हटाएको बताए । 

सरकारले संसदको कार्यसूचीमा अध्यादेश राखेलगत्तै पार्टीले निर्णय सार्वजनिक गर्ने बताउँदै उनले अध्यादेशलाई समर्थन गर्न विषयमा पार्टीले बार्गेनिङ नगरेको स्पष्ट पारे । उनले भने, अहिले आफ्नो पार्टी सरकारमा जाने अवस्थामा छैन ।’

‘सरकारले कार्यसूचीमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन,’ उनले भने, ‘देश र जनताको हितमा काम चाहियो ।’

सरकारले माघ १८ को हिउँदे अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश सदनमा प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा कांग्रेस–एमालेको गठबन्धनको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा जसपा, नेपाल निर्णायक छ । राष्ट्रियसभामा जसपा, नेपालका तीन सांसद छन् ।  

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update