नेपाल न्युज प्वाइन्ट डटकम
शहीदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौं : राष्ट्रपति पाैडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलले शहीदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गरेका छन् । तनहुँकाे व्यास नगरपालिका -८ पुलिमराङमा रहेकाे शहीद पार्कमा पुगेर शहीदहरूकाे सालिकमा माल्यार्पणपछि स्थानीयलाई सम्बाेधन गर्दै उनले भने, 'शहीदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । अब विदेश जाने छटपटाहट छोडौँ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौँ ।'

उनले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे । उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोज़गारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको शहीद पार्कमा रहेका शहीदहरू भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको सालिकमा माल्यार्पण गरे । लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ । जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गरेका थिए ।

त्यसैगरी २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गरेका थिए । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए ।

राष्ट्रपति पौडेलले माघ १६ गते शहीद दिवसका अवसरमा गृहजिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गरेका शहीदहरूको सालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरेका हुन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसहित स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update