काठमाडौं : सरकारले ५९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत् सहसचिवहरूको सरुवा गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूची पठाएकामा ५९ मा निर्णय भएको जनाएको छ।
प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयमा सहसचिवहरूको सरुवा गरिएको हो।
प्रधानमन्त्री कार्यालयमा सहसचिव चण्डी प्रसाद घिमिरे, कृष्ण कुमारी श्रेष्ठ, यमलाल भुसाल, विनोद बहादुर कुँवर र सुमन दाहालको सरुवा गरिएको छ। घिमिरे यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए। दाहाल भने सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक कमलराज भट्टराई र राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाको पनि सरुवा भएको छ।
सम्पत्ति शुद्धिकरणका भट्टराईको राष्ट्रिय सूचना आयोग र बुढाको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएको छ।
अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी र भन्सार विभागका महानिर्देशक ढुण्डिप्रसाद निरौलाको सरुवा भएको छ। तिवारीको कर्णाली प्रदेश प्रमुख कार्यालय र निरौलाको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ ।
अर्थ मन्त्रालयमा हरिशरण पुडासैनी, महेश भट्टराई, दीपक लामिछाने, गोपीकृष्ण कोइराला, यमुना प्रधान, श्यामप्रसाद भण्डारी, मदन दाहाल र कविता रेग्मीको सरुवा गरिएको हो।
महावाणिज्य दूतको लागि चार जना सहसचिवको सरुवा गरिएको हो। झक्क प्रसाद आचार्य कलकत्ता, लक्ष्मीप्रसाद निरौला बेइजिङ, ग्वान्जाओको लागि विन्देश्वर प्रसाद लेखक र ल्हासामा भरत खनालको सरुवा गरिएको हो । यसअघि झक्कप्रसाद आचार्य र भरत खनाल गृह मन्त्रालयमा कार्यरत रहेका थिए ।
अर्थ मन्त्रालयमा कार्यरत टोकराज पाण्डेलाई गृह मन्त्रालय सरुवा गरिएको छ । अर्थकै रितेश कुमार शाक्य र टंक प्रसाद पाण्डेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो।
अर्थका नरेन्द्र कुमार रानालाई लोकसेवा आयोग, महालेखा नियन्त्रकको कार्यालय नारायण प्रसाद सापकोटालाई निर्वाचन आयोग सरुवा गरिएको छ।
सापकोटा निर्वाचन आयोग, बाबुराम गौतम मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश, हुमकला पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लक्ष्मी प्रसाद भट्टराई शिक्षा मन्त्रालय, निता पोखरेल निर्वाचन आयोग, नारायण प्रसाद भट्ट सतर्कता केन्द्र, पुष्कर न्यौपाने कोसी प्रदेश प्रमुखको कार्यालय, हेमराज तामाङको कोसी प्रदेश मुख्य मन्त्री कार्यालय सरुवा भएको हो ।
त्यस्तै सहसचिव रुद्र प्रसाद पण्डित राष्ट्रिय योजना आयोग, कमल प्रसाद भट्टराई राष्ट्रिय सूचना आयोग, ईश्वर राज पौडलको मुख्यमन्त्री कार्यालय वाग्मती प्रदेश, पुष्पराज शाहीको कर्णाली मुख्य मन्त्री कार्यालय सरुवा भएको छ ।



